१८ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् ।
गएराति ११ : ४७ बजे जाजरकोटको बारेकोट-१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बढी क्षति पुगेको छ ।
भूकम्पले माटोको जोडाइ भएका अधिकांश घरहरु भत्किएका छन् । खलंगामा जिल्ला मालपोत कार्यालयलगायत प्राय: घरहरू भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबार पनि चर्किएको छ ।भूकम्पले घरहरू भत्किएपछि नागरिकहरू बाहिर चौरमा बसेका छन् । अस्पतालहरू घाइतेले भरिएका छन् ।भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।मानिसहरु रातिदेखि नै खुला ठाउँमा बसिरहेका छन् । उनीहरुलाई राहत वितरणको प्रयास भइरहेको छ ।घाइतेहरुले अस्पताल भरिभराउ छन् । गम्भीर घाइतेहरुलाई नेपालगञ्ज, सुर्खेततर्फ रिफर गरिएको छ ।


