२३ कात्तिक, काठमाडौं । टीकापुर घटनामा संलग्नहरुलाई गैरकानूनी रुपमा कैद मिनाहा गरी रिहा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
घटनामा मारिएकाका आफन्तहरुले टिकापुर घटनामा संलग्न भएको आरोपमा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदिप चौधरीको कैद मिनाहा गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय उल्ट्याउनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।गत मंगलबार दर्ता भएको रिट निवेदनमाथि विहीबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा प्रारम्भिक सुनुवाइ हुँदैछ । रिट निवेदनमा शारदा कठायत र मन्धरा देवी विष्टले कानूनविपरीत भएको कैद छुट बदर हुनुपर्ने माग गरेका छन् ।उनीहरुले केही दिनअघि रिगल ढकालको मुद्दामा भएको आदेशलाई समेत आधार मानेर आफ्नो रिट निवेदन सुनुवाइ हुनुपर्ने माग गरेका छन् ।गत ३ असोजमा संविधान दिवसका अवसरमा टीकापुर घटनामा दोषी भई कसुरदार ठहरिएका तीन जनाको कैद मिनाहा भएको थियो ।७ भदौं २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।
जिल्ला अदालत कैलालीले २२ फागुन २०७५ मा रेशम चौधरी सहित १० जनालाई जन्मकैदको फैसला सुनाएको थियो । घटनामा संलग्न भएको आरोप लागेका एक नाबालकलाई आधा अर्थात २० वर्षमात्रै कैद सजाय भएको थियो ।
उच्च अदालत दिपायलले ८ जनालाई जन्मकैदको सजाय गरेको थियो । जिल्ला अदालतबाट तीन वर्षमात्रै कैद सजाय पाएका लक्ष्मण थारुसमेत जन्मकैदको सजायमा परेका थिए ।
सर्वोच्च अदालतले सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपबाट सफाइ दिएको हो । लक्ष्मण चौधरीमाथि तीन वर्ष कैद फैसला भएको थियो ।
सर्वोच्च अदालतको फैसलालगत्तै सरकारले माफीमिनाहाको प्रक्रियाबाट १५ जेठमा गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीको कैद मिनाहा गरेको थियो । थप तीन जना आरोपित संविधान दिवसमा छुटेका थिए । रेशमको माफी मिनाहाविरुद्ध परेको रिटनिवेदन सर्वोच्च अदालतमा विचाराधिन छ ।