काठमाडौं । युरोपेली संघ (ईयू) ले भूकम्पबाट प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । ईयूले मानवीय सहायता स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

आवास, शुद्ध खानेपानी, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई सहायता स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित यु्रोपेली संघको प्रतिनिधिमण्डलले जनाएको छ ।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो । -रासस