उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । आइतवार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सवारी चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको बताए ।गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको बताए । उहाँले सवारी साधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताए । गृहमन्त्री लामिटानेले सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गरे ।
उनले सडक दुर्घटनामा बाइक चालकहरूको संख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा जोड दिए । ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्नेकुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको उनले बताए ।
लामिछानेले यसो भने
दुर्घटना न्युनिकरण राज्यको दायित्व हो । गृहमन्त्रालयको दायित्व हो । नागरिकको ज्यान बचाउने सबै भन्दा ठूलो दायित्व हो । सुरक्षित ढङ्गले सवारी सञ्चालन हाम्रो लागि प्राथमिकता हुनुहुपर्छ । जस्तो सरकारको ड्राभिङ लाइसेन्स दिने निकाय एउटा छ । त्यो लाइसेन्स प्राप्त गरेको मान्छेले सही ढङ्गले सवारी चलाएको छ वा छैन भनेर हेर्ने निकाय अर्को छ । म त भन्छु रोड टेष्ट नगरी कन ड्राइभिङ दिने परिपाटी छ । त्यो परिपार्टी ठिक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ । कुनै ठाउँभित्र एट (८) बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा जुन ढङ्गले लाइसेन्स दिइएको छ । यसलाई एकदमै कडाइ गरेर मात्र लाइसेन्स दिनुपर्छ भन्दिनँ । तर सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्नसक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु । बाबुआमाले माया गरेर परीक्षामा यति प्रतिशत अङ्क ल्यायौ भने बाइक किन्दिन्छु भन्नु एउटा कुरा हो । तर त्यो बाइक गाडी चलाउने हैसियत बनाउनु अर्को कुरा हो । तर लाइसेन्स चाहीँ त्यसरी पाउनुहुँदैन ।त्यसको लागि नीतिगत रुपमा धेरै कुराको आवश्यकपर्छ । रोड टेष्ट नगरी ड्राभिङ लाइसेन्स दिने परिपाटीले आज के भएको छ । स्किल नभएकाले सवारी साधन चलाउँदा धेरै सडक दुर्घटना बढेको छ । सुधारको लागि हामीले जरोमा जानुपर्छ । लाइसेन्स दिने प्रक्रियालाई सुधार गरेर जानुपर्छ । त्यसमा निर्मम भएर कडाईका साथ पालना गराउनुपर्ने हुन्छ । सडकमा स्पिड र इगो देखाउनु राम्रो होइन ।