मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार ३ मंन्त्री र एक राज्यमन्त्री थप गरे । मुख्यमन्त्री भएको १५ महिनामा भने उनले मन्त्रिपरिषदमा गरेको यो ११ औं पुनर्गठन हो ।
बिहीबार मन्त्री बनेका माओवादी केन्द्रका भरतप्रसाद साह र एकीकृत समाजवादीकी बेची लुंगेली विना विभागीय छन् भने माओवादीका युवराज भट्टराई उद्योग तथा पर्यटन मन्त्री बनेका छन् ।एमालेकी शारदा थापा भने गृह तथा सञ्चार राज्यमन्त्री बनेकी छन् । माओवादी केन्द्रले यसअघिकी उद्योग पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर भट्टराईलाई पठाएको हो । माओवादीले उद्योग पर्यटन राज्यमन्त्री रहबर अन्सारीलाई पनि फिर्ता बोलाएको छ ।जनमतले छाडेको श्रम तथा यातायात र लोसपाले छाडेको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री यादवले आफैं सित राखेका छन् ।माओवादीबाट विना विभागीय मन्त्री बनेका साह मुख्यमन्त्रीसँग बाँकी रहेको कुनै पनि मन्त्रालय लिन तयार छैनन् । उनी अर्थ मन्त्रालय आफूले पाउनुपर्ने अडानमा छन् ।उनलाई श्रम तथा यातायात मन्त्रालय लिन आग्रह गरेपनि माओवादीले अस्वीकार गर्दै आएको छ ।मुख्यमन्त्रीले अर्थ मन्त्रालय दिने शर्त र बचनमा साहले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएको माओवादी केन्द्रका एक नेताले भने ।अर्थमन्त्रालय माओवादीले दावी गरेपछि मुख्यमन्त्री यादव दबाबमा छन् । गत वैशाख ४ गते माओवादी र एकीकृत समाजवादीलाई नमिलाए विश्वासको मत नपाउने देखिएपछि उनले दुबै दललाई एक एक वटा मन्त्रालय थप गरिदिने सहमति गरेका थिए ।तर माओवादी नेताहरु भने शक्तिशाली मन्त्रालय दिने सहमति गरेको जिकिर गर्छन् ।
