पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
रौतहट, कटहरिया नगरपालिका-२ छेदिचोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-९ बजार टोल बस्ने अटो चालक ४२ वर्षीय अनन्त बराइली र उनकै श्रीमती ३५ वर्षीय मन्जु बराइली रहेका छन् । अस्थायी प्रहरी पोष्ट छेदिचोकबाट खटिएको प्रहरीले प्र.२-०३-००१ ह ३१५ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-५ पन्थपाडास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम र नगद ११ हजार रूपैयाँसहित झापा बाह्रदर्शी गाउँपालिका-४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ५६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक जफिरलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, औरही गाउँपालिका-५ स्थित औरही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ३८ हजार २ सय २० रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा सिरहा नगरपालिका-१५ बस्ने ३६ वर्षीय श्याम सुन्दर यादव र भारत घर भएका ३२ वर्षीय सुधिर कुमार ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले विआर ३२ एएफ ९३४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।
यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-४ मुरली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय अर्जुन बैठा र २१ वर्षीय ईन्द्रजीत भण्डारी रहेका छन् । प्रहरी चौकी हनुमाननगर र लागूऔषध नियन्त्रण व्यूरो जनकपुरबाट खटिएको प्रहरीले ज.१० प १२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ १ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया दिक्षा लामिछाने र सोही उपमहानगरपालिका-२ मिलनचोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हत्या गरेको अभियोगमा पक्राउ।
जुम्ला, पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासि गाउँपालिका-१ गडिगाउँ घर भई माईतिघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ।
काठमाडौं, टोखा नगरपालिका-९ सृजना टोल बस्ने ४९ वर्षीय हरि श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, जुवा खेल्न प्रयोग गरिएका विभिन्न क्वाइन १ सय ९ थान र ४ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
६८ किलो गाँजासहित दुई जना पक्राउ।
धनकुटा, अवैध लागूऔषध गाँजा करिब ६८ किलोसहित सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ३० वर्षीय सुरज थापा र धरान उपमहानगरपालिका-३ बस्ने ४० वर्षीय नारायण श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका-७ धनकुटा हुक्काबासमा बाग्मती प्रदेश ०१-०२५ च ४६७७ नम्बरको कारलाई जाँच गर्न रोक्न खोज्दा कार नरोकी कारबाट केही सामान फालेर भागेकोमा सामान तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको थियो । उक्त कारको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका-६ स्थित होटल माउन्ट एभरेस्टमा फेला पारी कार चालक सुरज र कारमा सवार नारायणलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीबाट