सभामुख देवराज घिमिरेको आह्वानमा बसेको शीर्ष नेताहरूसहितको बैठकमा सहभागी भएर बाहिरिने क्रममा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई जोगाउन राज्यसंयन्त्रको दुरुपयोग गरिएको जिकिर गरे ।
सरकारका निकायले नै गरेको अनुसन्धानले ठूला सहकारीबाट कुनै प्रक्रिया नपुर्याई रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेट्वर्कमा करोडौँ ऋण प्रवाह भएको देखिएकोछ’, उनले भने, ‘ती सहकारीका सदस्यसमेत नरहेका रविको नाममै पनि करोडौं ऋण निकालिएको छ । राज्यकै निकायको अनुसन्धानले रविविरुद्ध कयौँ प्रमाण दिए पनि उनलाई जोगाउन राज्यका संयन्त्रलाई दुरुपयोग गरिएको छ ।’
लेखकले अहिले पनि रविबारे छानबिनका लागि संसदीय समिति बन्नुपर्ने अडानमा कांग्रेस यथावत रहेको बताए । ‘आजलाई हाम्रो कुरा भनेको संसदीय छानबिन समिति बनाउनुपर्छ’, उनले भने, ‘माननीय रविजीका लागि पनि यो राम्रो कुरा हो ।
‘रवि लामिछाने कानुनभन्दा माथि छैनन् । आज पनि संसदीय समिति गठन गरौँ भनेका छौँ’, उनले भने, ‘अरु सहकारी ठगीका दोषीलाई कारबाही हुँदा रविलाई जोगाउन सरकारले सबै संयन्त्र परिचालन गरेको छ, हामी अडानबाट पछि हट्दैनौँ ।उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविमाथि प्रश्न उठिसकेपछि आफूहरूले छानबिन गरौँ भन्दा सरकार तयार नहुने अवस्थाले झन् जटिलता निम्त्याएको लेखकले बताए ।