सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो । उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समिति बनाएर जाने विषयमा सबै दलको समान धारणा रहेको बताए । उनले भने, ‘सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटान नगरी संसदीय छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएको भन्ने विषय हैन । भोलि कार्यदलले सुझाव दिएपछि कसरी बनाउने भन्ने कुरा आउँछ ।’
उनका अनुसार संसद्को अवरोध खोल्ने कुरामा लगभग सहमति जुटेको छ । तर सत्ता पक्षले समिति बनाउँदा कांग्रेसले राखेका सर्त पुरा हुनुपर्ने बताइएको छ । कांग्रेस सांसद जीवन परियारका अनुसार भोलि बिहान साढे ८ बजे कार्यदलको बैठक बस्ने छ ।
आजको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटारको छलफल गरेका थिए ।