प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पुर्याइएको थियो।
प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्याएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे निष्पक्ष नभएको आरोप लगाउँदै उनको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभामा सभामुखले आज निर्वाह गरेको भूमिका पदीय गरिमा अनुकूल नभएको ठहर गर्दै त्यसप्रति प्रश्न उठाएको हो ।
कांग्रेसले प्रतिनिधिसभामा विपक्षी दलको विरोध र नाराबाजीबीच संसद् बैठकका कार्यसूची अघि बढाएको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएको हो । “सङ्घीय संसद्को गरिमामय सभभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्यमान्यतालाई कुठाराघात गर्दछ । तसर्थ कांग्रेस संसदीय दलको यो बैठक सभामुखलाई संसदीय मूल्यमान्यता र परम्परा जोगाउनेतर्फ काम गर्न गम्भीररुपले ध्यानाकर्षण गर्दछ”, बैठकको निर्णयमा उल्लेख छ ।
विपक्षी दलको विरोध र नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएको र नेपाली कांग्रेसका सांसदलाई बोल्न नदिएको कांग्रेस संसदीय दलको आरोप छ । संसदीय दलको बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले सभामुखले पार्टीको कार्यकर्ता जस्तो व्यवहार गर्न नसुहाउने बताए । लोकतान्त्रिक एवं संसदीय मूल्यमान्यता बिर्सेर संसद् बैठक सञ्चालन गर्ननहुने निष्कर्ष कांग्रेसको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिन ३० दिनको समायावधि रहेकामा विपक्षी दलहरुको मागबमोजिम संसदीय छानबिन समिति गठन गर्नुको साटो पर्याप्त समय हुँदाहुँदै विश्वासको मत लिने प्रक्रिया पूरा गराउनु अनुपयुक्त भएको सचेतक लेखकले बताए ।
कांग्रेससहित सङ्घीय संसदमा रहेका सबै विपक्षी दलहरुले सहकारी ठगीसम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिनको सुनिश्चितता गर्न संसदीय छानबिन समिति गठनको माग जारी राखेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।
बैठकमा १५८ उपस्थित थिए । उनको पक्षमा १५७ मत पर्यो । विपक्षमा शून्य र तटस्थमा एक मत परेको सभामुख देवराज घिमिरेले जनाए ।
सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग राख्दै प्रतिपक्षीहरूले नारबाजी गरिरहे । १५ मिनेटका लागि स्थगित भएपछि बसेको दोस्रो बैठकमा मर्यादापालक लगाएर प्रधानमन्त्री प्रचण्ड रोष्ट्रम पुगेका थिए ।
विरोधका बीच सभामुख घिमिरेले विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री प्रचण्डलाई अनुमति दिए । विश्वासको मतको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मात्र बोले ।
त्यसमा जवाफ दिने प्रक्रिया पूरा गरेपछि सभामुख घिमिरेले मतदानको प्रक्रिया अघि बढाएका थिए । विपक्षी दलहरुले वेल घेरेका कारण प्रधानमन्त्री प्रचण्ड भिड छिचोल्दै रोष्टमसम्म पुगेका थिए । रोष्टमबाट प्रधानमन्त्री प्रचण्डले आक्रोश व्यक्त गर्दै कांग्रेसको यो गतिविधि कलंकको रुपमा स्थापित हुने जिकिर गरे ।
प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मंगलबार ११ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
केही समययता कांग्रेसले छानबिन समितिको माग राख्दै सदन अवरोध गर्दै आइरहेको छ । प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाएका हुन् ।