मंगलबार प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेसँग समय लिएर कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेले आइतबार आफ्ना पार्टी सभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न आग्रह गरेका हुन् पाण्डेले गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा बरबराएको टिप्पणी गरे ।गृहमन्त्री लामिछानेले कांग्रेस सभापति देउवाले आफूलाई डेढ वर्ष प्रधानमन्त्री अफर गरेको र आफूले अस्वीकार गरेपछि संसदमा अवरोध गरेको आरोप लगाएका थिए । पाण्डेले आफ्ना सभापति र महामन्त्रीमाथि लगाएको आरोपको छानबिन गर्न पनि गृहमन्त्रीलाई चुनौती दिए । ‘हाम्रो पार्टीका सभापति र महामन्त्रीमाथि जसरी उहाँले लाञ्छना लाउनुभएको छ । म चुनौती दिन चाहन्छु– के कस्तो खालको टिओर बनाउनुपर्ने हो बनाउनुहोस् । हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओरमा लेख्नुपर्ने हो कि, व्यक्तिको लेख्नुपर्ने हो कि, नेपाली कांग्रेस पार्टीको लेख्नुपर्ने हो लेख्नुस् । छानबिनको समय पनि तोक्नुहोस्’, उनले भनेका छन् ।कांग्रेसका महामन्त्री गगन थापालाई कृषि अनुदान दुरुपयोग गरेको, विदेशीलाई सूचना बेचेको आदि आरोप लगाएका थिए ।उहाँ बोल्न उभिनुभएन रोष्ट्रममा, लामो समय बरबराउनुभयो । बरबराउनुमात्रै भएन लाखौं करोडौं मानिसलाई उहाँले बराल्ने काम पनि गर्नुभयो । थुप्रै त्यस्ता विषयहरुको जवाफ हामी आगामी दिनमा दिँदै जानेछौं’, पाण्डेले भनेका छन्
गृहमन्त्रीले राष्ट्रको सूचना बेच्ने व्यक्ति संसदमै छन् भनेको भन्दै पाण्डेले त्यो व्यक्ति देखाउन चुनौती दिए । ‘राष्ट्रिय सूचनाहरु बेच्ने एजेन्टहरु यही सदनमा छन् भन्नुभएको छ । गृहमन्त्रीज्यू को हो त्यो एजेन्ट देखाउनुहोस् । उसलाई यो सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्छौं । तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने माननीय गृहमन्त्रीज्यू तपाईंलाई यो सदनबाट गलहत्याउन, त्यो कामबाट पनि हामी चुक्ने छैनौं’, कांग्रेस सांसद पाण्डेले भने ।
गृहमन्त्रीले लगाएका आरोपहरुमाथि छानबिनका लागि सांसद पाण्डेले सभामुखसमक्ष रुलिङको माग समेत गरेका छन् ।
पाण्डेले भनेका छन्, ‘उहाँले लगाएका आरोपहरु यदि सत्य हुन् भने प्रमाणित गरेर देखाउनलाई सभामुखज्यूको रुलिङ चाहियो । होइन भने संसदको रेकर्डबाट हटाउनका लागि म आग्रह गर्न चाहन्छु ।’छानबिनपछि आउने निष्कर्ष स्वीकार गर्न आफूहरु तयार रहेको उनले बताए । नेता पाण्डेले भने, ‘…हाम्रो उपसभापति रमहामन्त्री दोषी हुनुभयो भने उपसभापति र महामन्त्री त के कांग्रेसका को कोलाई कारबाही गर्नुपर्छ गर्नुहोस् ।’