जिल्ला कपिलवस्तु, भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका नायब सुब्बा नरहरी खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज नायब सुब्बा नरहरी खनाललाई सेवाग्राहीबाट रु.३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला कपिलवस्तु, भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा, कपिलवस्तुका नायब सुब्बा नरहरी खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु.३०,०००।–(तीस हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज नरहरी खनालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.३०,०००।–(तीस हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
