आइतबार बसेको संसद् बैठकमा जेठ १५ गते प्रस्तुत विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा पूर्व अर्थमन्त्री एवम् प्रमुख सत्तारुढ नेकपा एमालेले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका क्रममा अर्थमन्त्री वर्षमान पुनले कुनै सल्लाह सुझाव नलिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।
यसअघि शनिबार प्रमुख सत्तारुढ नेकपाएमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका थिए ।
ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाएका थिए ।
शनिबार संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो थाहा नभएको बताएका थिए ।
‘दलहरूसँग छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो की ? जस्तो अलि बढ्ता देखिन गएको छ। र रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ’, उनले भनेका थिए ।
उनले बजेटमा केही कमजोरी र समस्या देखिएको भन्दै तयारीकै बेला अर्थमन्त्रीले सल्लाह गरेको भए ती नदेखिने बताए ।