शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले संसदको आगामी बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउन माग गरेका हुन् ।
उनले विदेश भ्रमणमा जाँदा नै आफ्नो कार्यक्रमबारे सदनमा जानकारी गराउने अभ्यास रहे पनि प्रधानमन्त्री प्रचण्ड भारतबाट आएको पाँच दिन हुँदा पनि सदनमा कुनै जानकारी नआएको धारणा राखे ।
लेखकले राष्ट्रपतिको विदेश भ्रमणबारे पनि सदनमा जानकारी गराउन माग गरे । देशको राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे पत्रपत्रिकाबाट थाहा पाउने अवस्था दुर्भाग्य भएको उनको भनाइ छ ।
लेखकले सरकारका कारणले संसदको न्यूनतम मर्यादा कायम हुन नसकेकाले खेद व्यक्त गर्नुपर्ने बताए ।
कांग्रेसले उठाएका बिषयमा सरकारका तर्फबाट जानकारी गराउनका लागि रुलिङ गर्न पनि उनले सभामुख देवराज घिमिरेसँग माग गरे ।केही समयअघि गृहमन्त्री रवि लामिछानेले सदनबाट नेताहरूमाथि लाञ्छना लगाएको भन्दै गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताए ।