मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले म्यानपावर व्यावसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।उनले सरकारले स्वार्थ बाझिने गरी म्यानपावर व्यावसायी अबुसुफ्यान खानलाई साउदी अरबको राजदूतमा सिफारिस गरेको बताएका हुन् ।नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक साउदी अरब हो ।सांसद यादवले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ मा राजदूत नियुक्तिमा विदेशी मुलुकको स्थायी, अस्थायी आवासीय अनुमतिपत्र वा सुविधा प्राप्त नगरेको हुनुपर्ने योग्यता तोकिएको पनि स्मरण गराए । खानको सिफारिसपछि म्यानपावर व्यावसायी सशंकित भएको पनि उनले बताए । यादव भन्छन्, ‘म्यानपावर व्यावसायी आफैँ राजदूत भएर जाने भएपछि साउदीमा काम गर्ने म्यानपावर व्यावसायीहरु सशंकित भएका छन् ।’उनी (खान)गत जेठसम्म साउदी अरबमा श्रमिक पठाउने इसान ओभरसिजका सञ्चालक थिए । उनी लामो समयदेखि साउदी अरबमा (श्रमिक पठाउने) काम गर्दै आएका छन्’ यादवले भने, ‘जुन देशमा श्रमिक पठाउँदै आएको छ, जहाँ कारोबार भइरहेको छ त्यही देशको राजदूतको जिम्मेवारी दिँदा सोझै स्वार्थ बाझिने गर्छ ।’
म्यानपावर व्यावसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवको प्रश्न
