नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि नै पूर्णता दिने तयारी भइरहेको छ ।
राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेपछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएकाले सोमबार बिहान ११ बजे शपथ समारोह राख्ने तयारी चलिरहेको छ ।ओलीले आफूले शपथ लिँदा मन्त्रिपरिषदलाई पूर्णता दिन चाहेका छन् । ‘सकेसम्म भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिइनेगरी छलफल भइरहेको छ’स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ ।नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकासलगायतका मन्त्रालय लिनेछ । मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुबै दलका नेताहरुले बताएका छन् । सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।प्रधनमंन्त्री ओलीले एकैपटक सबै मन्त्री नियुक्त गर्न चाहेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसैअनुसार छलफल गरिरहेका छन् । ‘ओलीजीले भोलि सबै मन्त्री नियुक्त गर्नुपर्छ भनेपछि पार्टीभित्र र बाहिर छलफल भइरहेको छ । भरे रातिसम्म मन्त्रीहरुको टुंगो लाग्छ’, देउवा निकट एक नेताले भने ।उनका अनुसार, आइतबार रातिसम्म सम्भव नभए पनि भोलि बिहानसम्म मन्त्रीहरु टुंगो लगाउने गरी देउवा लागिपरेका छन् । साना दलहरु पनि आइतबार नै मन्त्री टुंगो लगाउन छलफलमा छन् ।सरकारमा सहभागी हुने साना दलहरुलाई दिएर बाँकी रहेको मन्त्रालय आधा–आधा गर्नेगरी देउवा र ओलीबीच छलफल भइरहेको छ ।ऐमाले र कांग्रेस पार्टीभित्र आकांक्षी सांसदहरुको संख्या धेरै रहेकाले पनि भोलि एकैपटक मन्त्रिपरिषद पूर्णता दिन लागिएको एमाले र कांग्रेसका नेता बताउँछन् । ‘मन्त्री बन्न योग्य सांसदहरु धेरै हुनुहुन्छ । तर थोरै संख्याबाट मिलाउनुपर्ने भएकाले पनि एकैपटक मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ भन्नेमा नेताहरु पुग्नुभएको छ’, उनी भन्छन् ।