यूएई सरकारले दुई महिनाको भिसा आममाफी कार्यक्रम ल्याएको छ । यूएईले सुरु गरेको ‘आममाफी २०२४’ बाट त्यहाँ अवैध रुपमा बसेका नेपालीले लाभ लिन सक्नेछन् ।आममाफीले म्याद सकिएको कागजात लिएर बसेकाहरुलाई आफ्नो ‘स्टाटस’ परिवर्तन गरेर त्यहीँ रहन वा जरिवाना तिरेर स्वदेश फर्किन सहज हुनेछ । यूएईमा रहनका लागि भने ‘जब अफर लेटर’ आवश्यक पर्नेछ ।
गत १ सेप्टेम्बरदेखि लागु भएको यो कार्यक्रम ३० अक्टोबरसम्म चल्नेछ । भिसा अवधि पार गरेर अवैध रुपमा बसिरहेका विदेशी श्रमिक र पर्यटक (रन–वे/ओभरस्टे) लाई घर फर्किने अवसर दिन युएईले आममाफी घोषणा गरेको हो । यूएईस्थित नेपाली दूतावासले आममाफी प्रक्रियामा सहभागी हुन चाहनेहरुलाई पासपोर्ट नभएमा निःशुल्क रुपमा एकतर्फी यात्रा अनुमतिपत्र दिने व्यवस्था गरेको छ । यसरी नेपाल फर्किंदा हवाइ टिकट भने आफैंले किन्नुपर्नेछ ।भिसा पाएपनि यूएईको अध्यागमन नियम उल्लघंन गरेकाहरुले पनि आममाफी पाउनेछन् ।
एक्जिट पास प्राप्त गर्ने र देश छाड्नेहरुलाई भविष्यमा यूएई फर्किन अयोग्य नरहने गरी प्रतिबन्धको सूचीमा नराख्ने यूएई सरकारले बताएको छ । भिसा स्थिति परिवर्तन गर्न वा एक्जिट इजाजत प्राप्त गर्न कुनै शुल्क नलाग्ने व्यवस्थासमेत छ । गैरकानुनी रूपमा देशमा बस्दा पहिले लागेका जरिवाना समेत माफ गरिनेछ ।
देश फर्किनेहरुका लागि सरकारले १४ दिनको समय दिनेछ । सो अवधिमा देश नछाडेमा फेरि पुरानै नियमअनुसार सबै जरिवाना लाग्नेछ ।
नेपाली दूतावास अबुधावीले जारी गरेको सूचना ।
