भारी वर्षासँगै आएको बाढी र पहिरोले पूर्वी नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने मुख्य सडक वीपी राजमार्गमा ठूलो क्षति भएको छ ।
बनेपा- बर्दिबास १५८ किलोमिटर लामो सडकका मुख्य गरी काभ्रे क्षेत्रमा बढी क्षति भएको छ । नेपालथोक खुर्कोट खण्डमा २०० मिटर सडकमा पूर्ण रुपमा क्षति भएको छ ।धुलिखेलदेखि नेपालथोकसम्मको खण्डमा १ हजार ५०० मिटर सडक पूर्ण रुपमा क्षति भएको छ ।सानो खहेर तथा पहिरो पन्छाएर सञ्चालन गर्न मिल्ने बाहेक ९ ठाउँमा पूर्ण रुपमा क्षति भएको छ । सडक विभागका सहप्रवक्ता तथा इन्जियर अमितकुमार शर्माका अनुसार ९ ठाउँमा गरेर कुल १ हजार ७०० मिटर सडक पूर्ण रुपमा क्षति भएको छ ।रोशी गाउँपालिकाको कालढुंगामा १०० मिटरभन्दा बढी सडक पूर्ण रुपमा क्षति भएको छ । यो ठाउँमा रोशी खोलाले कटान गरेर सडक नै बगाएको छ ।रोशी गाउँपालिकाकै बोक्सीकुना भन्ने ठाउँमा पनि करिब १०० मिटर भन्दा बढी सडक रोशी खोलाले कटान गरेको छ । यहाँ पनि पूर्ण रुपमा सडक क्षति भएको छ ।
थली बेसी भन्ने ठाउँमा पनि रोशी खोलाले २०० मिटरभन्दा बढी भागलाई पूर्ण रुपमा बगाएको छ । यस्तै नार्के पुल नजिक २०० मिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो ठाउँमा मात्रै करिब ५० वटा गाडीहरु रोकिएका छन् ।
त्यसैगरी काभ्रेको चौकी डाँडा भन्ने ठाउँमा करिब ५०० मिटर सडक रोशी खोलाले बगाएको छए । एकै ठाउँमा सबैभन्दा बढी सडकमा क्षति भएको चौकी डाँडामा हो । खोला किनारमा भएको यो सडक पूर्ण रुपमा क्षति भएको छ ।
धुलिखेल–नेपालथोकसम्म ६ ठाउँमा गरेर करिब १५०० मिटर सडक पूर्ण रुपमा क्षति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विवरण छ ।