सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई स्थायित्वको दिशामा अघि बढाएपछि मात्र नेकपा एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन टुंगिने बताएका छन् सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकलाई सही दिशा प्रदान गरेपछि मात्रै गठबन्धनबारे टुङ्गो लाग्ने बताउनुभएको छ।
मन्त्री गुरुङका अनुसार वर्तमान सरकारको प्रमुख प्राथमिकता देशलाई स्थायित्व र समृद्धितर्फ डोहो-याउनु हो। उहाँले सरकारका योजनाहरूलाई सही मार्गमा अघि बढाएपछि मात्र गठबन्धनको स्वरूपबारे निर्णय गरिने उल्लेख गर्नुभयो।
“हाम्रो मुख्य उद्देश्य मुलुकलाई सही दिशामा लैजानु हो। जब देश विकास र स्थायित्वको मार्गमा अग्रसर हुन्छ, त्यसपछि गठबन्धनका विषयमा उचित निर्णय हुनेछ,” मन्त्री गुरुङले भन्नुभयो।
हाल सत्तारुढ दलहरूबीच विभिन्न विषयमा छलफल जारी रहेको भए पनि सरकारको प्राथमिकता दीर्घकालीन स्थायित्व र समृद्धि रहेको मन्त्री गुरुङको भनाइ छ ।
लमजुङस्थित मर्स्याङ्दी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले विगतको अस्थिरता र बेथितिलाई अन्त्य गर्दै मुलुकलाई सही मार्गमा ल्याउन दुई ठूला दलबीच सहकार्य आवश्यक भएको बताए। साथै, उनले वर्तमान सरकार जनतामुखी सेवा, सुशासन, विकास, र समृद्धिको यात्रामा केन्द्रित रहेको उल्लेख गरे।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले संसद्मा प्रस्तुत गरेका ६ वटा अध्यादेश पारित गर्नुपर्नेमा जोड दिए। उनले अध्यादेशको विरोध गर्नु जनहितविरोधी कार्य हुने बताउँदै, समृद्धि चाहने सबै पक्षले ती विधेयक छिटो पारित गराउन सहयोग गर्नुपर्ने धारणा राखे।
मन्त्री गुरुङले आगामी ६० दिनभित्र अध्यादेशहरू पारित गर्दै सुशासनको प्रत्याभूति गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, एमाले–कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयन नभएसम्म गठबन्धन कायम रहने स्पष्ट पारे। उनले संविधान संशोधनको आवश्यकतामा समेत बल दिँदै, संघीय लोकतान्त्रिक प्रणालीलाई अझ प्रभावकारी बनाउन संशोधन प्रक्रिया अघि बढाइने बताए।
“समयानुकूल संविधान संशोधन गर्न आवश्यक छ। सबै पक्षको सहमति जुटाएर प्रक्रिया अघि बढाउने छौँ,” मन्त्री गुरुङले भने।