काठमाडौं – संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो १ बजे संसद भवन, नयाँ बानेश्वरमा सुरु हुने तय गरिएको छ।
आजको बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा प्रस्तावहरू पेस हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्ने छन्।
यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने छन्। साथै, उनले ‘विधायन विधेयक पारित गरियोस्’ भन्ने अर्को प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को अन्तर्राष्ट्रिय श्रम सम्मेलनले पारित गरेका नयाँ श्रम मापदण्डहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन’ पेस गर्नेछन्।
बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
