काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हालका दिनमा अपराधीहरू झन् निरंकुश बन्दै गएको टिप्पणी गरेका छन्। उनका अनुसार, अपराधीहरूले नेपाल प्रहरीलाई समेत धम्क्याउने अवस्था सिर्जना भएको छ।
नेपाल प्रहरी क्लब परिसरमा नव निर्मित ‘द ब्लु पेभिलियन’ भवनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराधीहरूले कानुनी डर नमान्ने अवस्था आएको बताए।
‘सुन तस्करले उल्टै प्रहरीलाई हप्काउँछ’
प्रधानमन्त्री ओलीले सुन तस्करीको समस्या गम्भीर बन्दै गएको औंल्याउँदै प्रहरीलाई नै अपराधीहरूले हप्काउने अवस्था आएको बताए।
“पहिले अपराधीहरूले प्रहरीले सोझो आँखाले हेर्दा पनि डराउने गर्थे, तर अहिले उल्टै प्रहरीलाई धम्क्याउने गर्छन्। सुन तस्करले झोलाभरि सुन बोकेर हिँड्छ र प्रहरीले हेर्न खोज्यो भने उल्टै ‘किन हेरेको?’ भनेर हप्काउँछ,” प्रधानमन्त्री ओलीले कटाक्ष गर्दै भने।
उनले हालको परिस्थितिमा अपराध नियन्त्रण चुनौतीपूर्ण बनेको उल्लेख गर्दै प्रहरीलाई निष्पक्ष र कठोर भएर काम गर्न निर्देशन दिए।
‘अब कठोर बन्ने बेला आएको छ’
प्रधानमन्त्री ओलीले वर्तमान समयमा अपराधीहरू झन् चतुर र संगठित बन्दै गएका कारण कानून कार्यान्वयन गर्ने निकायहरू थप सतर्क हुनुपर्ने आवश्यकता औंल्याए।
“हामी जस्ता इमानदार नागरिकले सामान्य कुरा गर्दा पनि ‘के हो के हो?’ भनेर प्रश्न गर्नुपर्ने जमाना आएको छ,” उनले व्यंग्य गर्दै भने, “अब प्रहरी प्रशासनले निष्पक्षता र इमान्दारिताका साथ अपराधविरुद्ध कठोर बन्नुपर्छ।”
सुरक्षा निकायलाई कडाइ गर्न निर्देशन
प्रधानमन्त्री ओलीले अपराध न्यूनीकरणका लागि सुरक्षा निकायहरूले कुनै सम्झौता नगरी कानूनी कठोरता अपनाउनुपर्ने बताए। उनले प्रहरी प्रशासनलाई स्वतन्त्र रूपमा काम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै अपराधीमाथि कानूनी कारबाहीमा कुनै ढिलाइ गर्न नहुने धारणा राखे।
उनको भनाइअनुसार, अपराधीहरूलाई राजनीतिक संरक्षण दिने प्रवृत्तिलाई रोक्न सरकार दृढ छ। उनले समाजमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन राज्यका संयन्त्रहरू थप प्रभावकारी हुनुपर्ने बताए।
अपराध नियन्त्रणमा सरकारले कस्तो नीति लिन्छ?
प्रधानमन्त्री ओलीका पछिल्ला भनाइहरूले सरकार अपराध नियन्त्रणमा कठोर नीति लिनसक्ने संकेत गरेको छ। सुरक्षा निकायलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिएको निर्देशनले अबका दिनमा प्रहरी प्रशासन थप सक्रिय बन्ने अपेक्षा गर्न सकिन्छ।
अपराध न्यूनीकरणका लागि सरकारले कस्ता ठोस कदम चाल्नेछ भन्ने हेर्न बाँकी छ। तर, प्रधानमन्त्रीको अभिव्यक्तिले अपराधीहरूलाई कडाइका साथ नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको सन्देश दिएको छ।