काठमाडौं – सरकारले ल्याएका विभिन्न अध्यादेशका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा समेत विस्तृत छलफल हुने गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन्।
सरकारले अघि सारेका ६ वटा अध्यादेश संसदमा प्रक्रियागत रूपमा अघि बढ्न सकेका छैनन्। विशेषगरी भूमिसम्बन्धी अध्यादेशलाई लिएर सत्ता पक्षकै केही दलबीच मतभेद देखिएको छ, जसका कारण सरकार दबाबमा परेको छ। बैठकमा यी विषयलाई कसरी समाधान गर्ने भन्नेबारे छलफल हुनेछ।
सत्तारूढ दलहरूले संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कार्यदल बनाउनेबारे समेत छलफल गर्ने तयारी गरेका छन्। सम्भावित कार्यदलले प्रदेश र जिल्लास्तरमा अन्तर्क्रिया गरी संविधान संशोधनका आवश्यकता र प्रक्रियाका सम्बन्धमा सुझाव संकलन गर्ने योजना रहेको बताइएको छ।
संसदमा अध्यादेशहरू पारित गराउनका लागि सरकारलाई कठिनाइ भइरहेको बेला आजको बैठकलाई महत्वपूर्ण मानिएको छ। सत्ता साझेदार दलहरूबीच सहमति जुटेमा संसदमा अड्किएका विधेयक र अध्यादेशहरू पारित गराउने बाटो खुल्ने अपेक्षा गरिएको छ।