रुस-युक्रेन युद्ध अन्त्यका लागि साउदी अरेबियामा वार्ता हुने पुष्टि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन साउदी अरेबियामा भेटवार्ता गर्ने तयारीमा छन्। यो वार्ता युद्ध अन्त्य गर्ने पहलको एक हिस्सा हुनेछ। ट्रम्प र पुटिनबीच भएको फोन कुराकानीपछि यसको तयारी गरिएको हो।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पनि सम्पर्क गरेका थिए, तर प्रारम्भिक वार्तामा युक्रेनलाई समावेश गरिएको थिएन। जेलेन्स्कीले ट्रम्पसँगको कुराकानीलाई “महत्वपूर्ण” भन्दै आफ्नो धारणा राखेका थिए। ट्रम्पले भने सबै पक्ष शान्ति चाहेको दाबी गरेका छन्।
यस वार्तामा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन्। तर, युक्रेनले वार्ताबाट बहिष्कृत हुने चिन्ता व्यक्त गरेको छ। अमेरिकी रक्षा सचिव पिट हेगसेथले युक्रेनको २०१४ पूर्वको सीमा पुनःप्राप्त गर्ने लक्ष्यलाई “अवास्तविक” भनेका छन्, जसले रुसको मागसँग मेल खान्छ।
यसबाहेक, ट्रम्पले नाटो सदस्यताका लागि युक्रेनको प्रयासलाई “व्यवहारिक नभएको” बताएका छन्, तर अमेरिकाले सैन्य सहयोग जारी राख्ने सम्भावनासहित युक्रेनको खनिज स्रोतको सम्झौता हुनसक्ने संकेत दिएका छन् । अमेरिकी प्रशासनले युक्रेनको पूर्व सन् २०१४ को सीमा फिर्ता ल्याउने चाहनालाई “अवास्तविक” भनेको छ भने नाटो सदस्यता प्राप्त गर्ने युक्रेनको प्रयासलाई “अव्यवहारिक” बताइएको छ। यसले सम्भावित सम्झौताका सर्तहरूबारे नयाँ प्रश्नहरू उब्जाएको छ।
युरोपेली नेताहरूले समेत युक्रेनको विषयमा छलफल गर्न अलग्गै सम्मेलन आयोजना गर्ने तयारी गरिरहेका छन्। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले नाटो र युरोपको सुरक्षाका लागि एकताबद्ध हुनुपर्ने बताएका छन्। पोल्यान्डका विदेश मन्त्रीले फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले यस विषयमा बैठक आह्वान गरेको पुष्टि गरेका छन् ।