रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि हुन लागेको वार्तामा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई सहभागी नगराइने भएको छ। रुस र अमेरिकाबीच साउदी अरेबियामा हुने वार्तामा युक्रेनी प्रतिनिधि नबोलाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसअघि युक्रेनका लागि अमेरिकी राजदूत केइथ केलोगले वार्तामा युक्रेनलाई पनि सहभागी गराइने बताएका थिए। तर, पछिल्लो जानकारीअनुसार सो वार्तामा युरोपेली नेताहरूको समेत उपस्थिति रहने छैन। युरोपेली नेताहरू सोमबार फ्रान्समा आयोजना हुने पेरिस सम्मेलनमा सहभागी हुनेछन्।
अमेरिकाले हालै रुस-युक्रेन युद्धप्रति आफ्नो दृष्टिकोण परिवर्तन गरेपछि फरक-फरक वार्ता प्रक्रिया अघि बढाइएको बताइन्छ। अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकोफ आइतबार नै साउदी अरेबिया पुगिसकेका छन्। रुसी प्रतिनिधिमण्डलसँग वार्ताका लागि अमेरिकी विदेश मन्त्री मार्क रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज सहभागी हुनेछन्।
गत बुधबार रुस र अमेरिकाबीच युद्ध अन्त्यका लागि फोन वार्ता भएको थियो, जसपछि प्रत्यक्ष वार्ताको तयारी भएको हो। तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने आफ्नो अनुपस्थितिमा भएका वार्ताका निर्णयहरू मान्न बाध्य नहुने स्पष्ट पारेका छन्।
यसैबीच, अमेरिकाले युक्रेनलाई नाटो सदस्यता दिन हाललाई अव्यवहारिक भएको धारणा सार्वजनिक गरिसकेको छ। यस घटनाक्रमसँगै युद्ध अन्त्यका लागि कूटनीतिक पहल तीव्र बनेको देखिन्छ।