काठमाडौं – निर्वाचन प्रणाली सुधार, राजनीतिक दलहरूको जवाफदेहिता र पारदर्शिता कसरी कायम गर्ने भन्ने विषयमा विभिन्न विज्ञहरूबीच छलफल भएको छ। बृहत् नागरिक आन्दोलनले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, राजनीतिशास्त्री कृष्ण खनाल, इन्द्र अधिकारी लगायतका विज्ञहरूले आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले वर्तमान गठबन्धन र निर्वाचन प्रणालीमा रहेका चुनौतीहरूको विषयमा चर्चा गरे। उनले सैद्धान्तिक दृष्टिकोण नमिल्ने दलहरूबीच चुनावी गठबन्धन हुनु स्वार्थको बन्धन मात्र भएको टिप्पणी गरे। “जीवनभर कांग्रेसलाई भोट दिने मानिसलाई अचानक अरूलाई भोट हाल्न भन्नु अन्याय हो,” उनले भने।
उनले नेपालको निर्वाचन प्रणालीलाई सुधार गर्न पूर्ण समानुपातिक प्रणालीको आवश्यकताको पक्षमा जोड दिए। “यदि संसद्मा जान चाहने दलहरूले १० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था गरियो भने साना दलहरू एकीकृत भएर जान्छन्, जसले राजनीतिक स्थिरता कायम गर्न सहयोग पुग्छ,” उप्रेतीले भने।
उनले आधुनिक प्रविधिको प्रयोग गर्दै विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने धारणा राखे। “आजको प्रविधिले घरबाटै मोबाइलमा ओटीपी प्रणालीमार्फत भोट हाल्न सम्भव बनाएको छ। तर, अझै पनि हामी ठूला बाकसमा मत हाल्ने पुरानै पद्धतिमा अड्किएका छौं,” उप्रेतीले उल्लेख गरे।
उनले विद्युतीय मतदान प्रणालीको पक्षमा जोड दिँदै भने, “निर्वाचन खर्च अत्यधिक बढेको छ। साना दलहरू टिक्न नसक्ने अवस्था आएको छ। यदि समानुपातिक प्रणालीलाई अझ व्यवस्थित बनाइयो भने खर्च पनि घट्छ, स्थिरता पनि आउँछ।”
कार्यक्रममा अन्य वक्ताहरूले पनि लोकतन्त्रलाई मजबुत बनाउन दलहरू पारदर्शी हुनुपर्नेमा जोड दिए। बृहत् नागरिक आन्दोलनका अगुवा प्राध्यापक सञ्जीव उप्रेतीले लोकतन्त्रको रक्षा र विकासका लागि दलहरूको जवाफदेहिता र पारदर्शिता आवश्यक रहेको बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचन सुधारका लागि आवश्यक नीति तथा रणनीति अवलम्बन गर्न सरकार र सरोकारवालाहरूलाई आग्रह गरे।