परराष्ट्रमन्त्री आरजु राणा देउवा मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रमा सहभागी हुन जेनेभा प्रस्थान ।
काठमाडौं, फागुन ११ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा सहभागी हुन आज स्विट्जरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेकी छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री देउवा उक्त सत्रमा सहभागी हुन गएकी हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले उनलाई बिदाइ गरेका थिए। फागुन १२ देखि १४ गतेसम्म हुने परिषद्को सत्रमा उनले फागुन १२ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा मन्त्री देउवाले विभिन्न मुलुकका समकक्षी मन्त्रीहरूसँग भेटवार्ता गर्नेछिन्। साथै, संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। नेपाललाई २०२७–२०२९ कार्यकालका लागि मानवअधिकार परिषद्को सदस्यका रूपमा चयन गराउन आवश्यक समर्थन जुटाउने विषयमा पनि उनले पहल गर्नेछिन्।
उनको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सहभागी छन्। मन्त्री देउवा फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम छ।