काठमाडौं – संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठकमा बाँदर र बँदेल नियन्त्रणसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव पेश हुन लागेको छ। ग्रामीण भेगमा यी वन्यजन्तुको आतंकका कारण खेतीबाली नष्ट हुनुका साथै स्थानीय बासिन्दा विस्थापित हुनुपरेको भन्दै समाधानका लागि पहल आवश्यक रहेको सांसदहरूको भनाइ छ।
सांसद राजेन्द्र बजगाईंले प्रस्ताव पेश गर्नेछन्, जसमा सांसद उदयशमशेर राणा र सञ्जयकुमार गौतमले समर्थन जनाएका छन्। प्रस्तावमा कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन तथा वातावरणीय सन्तुलन कायम गर्न नीति निर्माण र कार्यान्वयनको माग गरिएको छ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/०८१) पेश गर्ने कार्यसूची रहेको छ। गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही जिल्लाका विपन्न नागरिकहरूलाई अस्पताल सेवामा परेको असरबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ। यस विषयमा सांसद दयालबहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्ने अपेक्षा गरिएको छ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।