महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा नेपाल भ्रमणमा रहेका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन नेपाल आएको सो टोलीले राष्ट्रपति निवास, शीतल निवासमा भेट गरेको हो। नेपाली सेनाले छिमेकी राष्ट्रका सेनासँगको सम्बन्ध सुदृढ गर्न क्याडेटहरूबीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्दै आएको छ। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्।
यस्ता कार्यक्रमले युवाहरूलाई सामाजिक, सांस्कृतिक तथा आर्थिक पक्षहरूको बुझाइमा सहायता पुर्याउने तथा आपसी सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत गर्ने विश्वास गरिएको छ। एनसिसी तालिमले युवाहरूलाई अनुशासित, जिम्मेवार तथा नेतृत्वदायी भूमिकाका लागि सक्षम बनाउने उद्देश्य राखेको छ। साथै, यसले राष्ट्रियता, देशभक्ति, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रसेवाका गुणहरूको विकासलाई प्राथमिकता दिने गर्दछ।
नेपाल आएको सो भ्रमण टोलीमा ३४ जना प्रतिनिधि रहेका छन्। भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीरपाल सिंह, भूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन र माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।