वाशिङ्टन डी.सी. – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच आज ह्वाइटहाउसमा महत्वपूर्ण भेटवार्ता हुँदैछ। यो बैठक मुख्य रूपमा अमेरिकालाई युक्रेनी खनिजको आपूर्तिसँग सम्बन्धित सहमतिमा केन्द्रित हुने बताइएको छ।
यसअघि अमेरिका र युक्रेनबीच खनिज आपूर्तिको विषयमा प्रारम्भिक समझदारी भएको थियो। भेटवार्तापछि सो समझदारीलाई औपचारिक रूपमा अगाडि बढाउन दुई देशका प्रतिनिधिहरूबीच हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
भेटवार्ताको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले जेलेन्स्कीको प्रशंसा गर्दै उनीसँग राम्रो संवाद हुने विश्वास व्यक्त गरेका छन्। केही दिनअघि ट्रम्पले जेलेन्स्कीलाई ‘तानाशाह’ भनेको अभिव्यक्ति दिएका थिए, तर अहिले उनले त्यसलाई अस्वीकार गरेका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, “मैले त्यस्तो भनेँ र? मलाई विश्वास छैन। हामीबीच राम्रो सम्बन्ध छ, हामी मिलेर काम गर्नेछौं।”
युक्रेनका राष्ट्रपति जेलेन्स्कीको कार्यकाल गत मे महिनामा समाप्त भए तापनि रुससँगको युद्धका कारण नयाँ निर्वाचन हुन सकेको छैन। हाल युक्रेनमा ‘मार्शल ल’ लागू रहेको छ।
रुस र युक्रेनबीचको युद्ध २०२२ को फेब्रुअरीदेखि जारी छ, जसले विश्वव्यापी रूपमा ऊर्जा संकट, सुरक्षा मामिला र अर्थतन्त्रमा प्रभाव पारेको छ। ट्रम्पले यो युद्ध अन्त्य गर्न पहल गर्ने संकेत दिएका छन्।
ओभल अफिसमा बेलायती प्रधानमन्त्री किर स्टार्मरसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले जेलेन्स्कीसँग भेट हुने जानकारी दिएका थिए। स्थानीय समयअनुसार शुक्रबार बिहान ११ बजे हुने यो बैठकलाई निकै महत्वपूर्ण मानिएको छ।