१७ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनसम्म नेपाली कांग्रेस र एमालेबीचको सहकार्य कायम रहने बताएका छन्।
नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले साना दलहरूको भूमिकाले राजनीतिक अस्थिरता निम्त्याएको र त्यसले देशको विकासमा बाधा पुर्याएको उल्लेख गरे। यही अस्थिरता अन्त्य गर्न एमाले र कांग्रेसले सहकार्य गर्नुपरेको उनको भनाइ छ।
उनका अनुसार, सत्तामा सहकार्य गरे पनि दुवै दल आगामी निर्वाचनमा अलग-अलग प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि जनताको मतअनुसार सरकार गठन हुनेछ। पोखरेलले स्थिर सरकारको आवश्यकता औंल्याउँदै प्रमुख दलहरूबीच सहमति महत्वपूर्ण हुने बताए।
सरकार आर्थिक पुनरुत्थानमा गम्भीर रहेको उल्लेख गर्दै उनले व्यवसायिक वातावरण सुधार गर्न विभिन्न अध्यादेश ल्याइएको जानकारी दिए।