वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको वार्ता कडा बहसपछि बीचमै टुंगिएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार भएको भेटवार्ताका क्रममा करिब १० मिनेटसम्म चर्को बहस चलेपछि जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको थियो।
सीएनएनले ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै लेखेको छ कि बहसपछि युक्रेनी प्रतिनिधिमण्डल ओभल अफिसबाट बाहिरिएर अर्को कोठामा गएको थियो, जबकि अमेरिकी टोली भने त्यहीँ बसेको थियो।
त्यसपछि राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति जेडी भेन्स, विदेश मन्त्री मार्को रुबियो र माइक वाल्ट्जसँग परामर्श गरेका थिए।
वार्ताका क्रममा ट्रम्पले जेलेन्स्की संवादका लागि उपयुक्त अवस्थामा नरहेको बताएका थिए। त्यसपछि उनले वाल्ट्ज र रुबियोलाई जेलेन्स्कीलाई अब उनी फर्कने समय भइसकेको सन्देश दिन निर्देशन दिएका थिए।
यद्यपि, जेलेन्स्कीले विवाद समाधान गर्न चाहेको बताएको भए पनि उनलाई त्यसका लागि अवसर प्रदान गरिएन।
यस घटनाका कारण दुवै नेताबीच तय भएको संयुक्त पत्रकार सम्मेलन पनि रद्द गरिएको छ।