राष्ट्रिय सभाको आइतबार बसेको बैठकले चार वटा विधेयक पारित गरेको छ। नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पठाइएको छ।
त्यसैगरी, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक पनि पुनः पारित भएका छन्। यी विधेयकहरू यसअघि राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा गएका थिए। प्रतिनिधि सभाबाट फेरि संशोधनसहित राष्ट्रिय सभामा आएपछि आइतबारको बैठकले ती विधेयकहरू पुनः अनुमोदन गरेको हो।
कुनै पनि विधेयक एउटा सभाबाट पारित भई अर्को सभामा पठाइन्छ। त्यहाँ आवश्यक संशोधन भएपछि पुनः उत्पत्तिस्थलमा फिर्ता आउँछ। दुवै सभाले सहमति जनाएपछि सभामुख वा राष्ट्रिय सभा अध्यक्षले प्रमाणीकरण गर्छन्। त्यसपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र विधेयक कानुनका रूपमा कार्यान्वयनमा आउँछ।