भक्तपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय, धर्मनिरपेक्ष गणतन्त्रभित्र विद्यमान अन्तर्विरोधका कारण यो व्यवस्था स्वतः धरासायी हुने अवस्था आएको बताएका छन्। उनले प्रमुख राजनीतिक दलहरूको अकर्मण्यता र भ्रष्ट प्रवृत्तिले अहिलेको शासन प्रणाली असफल बन्दै गएको टिप्पणी गरे।
भक्तपुरमा आयोजित पार्टीको मध्यमाञ्चल विकास क्षेत्र समन्वय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले दिएको सन्देशलाई राष्ट्रिय मेलमिलापको प्रस्तावका रूपमा लिनुपर्ने बताए। उनले उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिएर हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा संघीयताको खारेजीबारे सोच्न सबै राजनीतिक दललाई आग्रह गरे।
थापाले राजसंस्थासहितको प्रजातन्त्र कुनै निरंकुश शासन नभएको दाबी गर्दै राजा र जनताको साझेदारीले बहुदलीय लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्ने बताए। उनले पूर्वराजाको सन्देश लोकतन्त्र, बहुदलीय संसदीय व्यवस्था तथा राजनीतिक दलहरूविरुद्ध नभएको स्पष्ट पार्दै राष्ट्रलाई संकटबाट उन्मुक्त गर्न गरिएको आह्वानलाई राप्रपा नेपालले समर्थन गर्ने बताए।
उनले वर्तमान अवस्थामा राजसंस्था, हिन्दू राष्ट्र र राष्ट्रवादका पक्षधरहरू एकजुट हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए। केही समूहहरूद्वारा राजा र हिन्दू राष्ट्रको नाममा गैरजिम्मेवार अभिव्यक्ति दिने तथा परिस्थितिलाई उत्तेजित बनाउने कार्य भइरहेको भन्दै उनले यस्तो गतिविधिले राजसंस्था पुनःस्थापनाको सम्भावनामा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरे।थापाले राप्रपा नेपालजस्ता स्थापित शक्तिहरू निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै केही अराजक र गैरजिम्मेवार समूहलाई अगाडि सार्ने प्रयास भइरहेको बताए। राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको अभियानलाई कमजोर बनाउने कुनै पनि गतिविधि आत्मघाती हुने उनको दाबी थियो।उक्त कार्यक्रममा तारानाथ लुइँटेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, यबती कार्की, राजाराम बर्तौला, माधव खत्रीलगायतले आ–आफ्नो धारणा राखेका थिए।