राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले आगामी २०८२ साल वैशाख २३ गते पुनः अदालतमा उपस्थित हुन तारेख दिएको छ।
सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पहिलो तारेख बुझ्न सोमबार अदालत पुगेका थिए। अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार लामिछानेलाई अर्को पेशी वैशाख २३ गतेका लागि तोकिएको छ।
सरकारी वकिलको कार्यालयले सुप्रिम सहकारी ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा लामिछानेसहित २२ जनाविरुद्ध गत माघ ५ गते पूरक अभियोग दर्ता गरेको थियो। सोही मुद्दामा माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले तत्काल उपलब्ध प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको ठहर गर्न पर्याप्त आधार नदेखिएको भन्दै एक करोड धरौटीमा छोड्ने आदेश दिएको थियो।
लामिछानेले अदालतको आदेशविरुद्ध तुलसीपुर उच्च अदालत बुटवल इजलासमा पुनरावेदन दर्ता गरेका छन्। उनले साधारण तारेखको माग गरेका छन् भने सरकारी वकिलको कार्यालयले उनलाई धरौटीमा छाड्ने आदेशविरुद्ध यसअघि नै पुनरावेदन गरिसकेको छ।