जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रशासनिक भवनसहित विभिन्न भौतिक पूर्वाधारहरूको उद्घाटन गरिएको छ। सोमबार प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले एक विशेष समारोहका बीच ती संरचनाहरूको उद्घाटन गरे।
नवनिर्मित भवनहरूमध्ये प्रहरी कार्यालयको प्रशासनिक भवन, ब्यारेक, हिरासत कक्ष, सैलुन, चमेना गृह तथा स्वागत कक्ष समावेश छन्। यी संरचनाहरू प्रहरी सेवाको प्रभावकारिता वृद्धि गर्न र प्रहरी कर्मचारीलाई सहज कार्य वातावरण उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको सुदृढीकरणमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताए। उनले नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिए। साथै, प्रहरी सेवाको आधुनिकीकरणसँगै समुदाय–प्रहरी साझेदारीलाई बलियो बनाउनु आवश्यक रहेको उनले उल्लेख गरे।

कार्यक्रमका अवसरमा आइजिपी कुँवरले प्रहरी कार्यालय परिसरमा वृक्षारोपण गर्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताए। उनले प्रहरी कार्यालय परिसरलाई हरित क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको जानकारी गराए।
मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले नयाँ संरचनाहरूको निर्माणले प्रहरी सेवाको प्रभावकारिता बढाउने विश्वास व्यक्त गरे। त्यस्तै, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेले रौतहटमा अपराध न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको जानकारी गराउँदै विगतको तुलनामा समग्र अपराध घटनामा ३० प्रतिशतले कमी आएको बताए।

एसपी घिमिरेका अनुसार, रौतहटमा गरिब तथा पीडित नागरिकलाई निःशुल्क निवेदन लेख्ने व्यवस्था मिलाइएको छ। साथै, नागरिक सहायता टेबुल, भिक्टिम रेस्पोन्स टिम तथा प्रहरी प्रमुखसँग सिधा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

उक्त उद्घाटन कार्यक्रममा स्थानीय प्रशासनका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो।