काठमाडौं जिल्ला प्रशासन कार्यालयले सिंहदरबार, नयाँ बानेश्वरलगायतका महत्वपूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। फागुन २५ गतेदेखि लागू हुने निषेधाज्ञा दुई महिनाका लागि कायम रहने प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार सिंहदरबार परिसर, संसद् भवन रहेको नयाँ बानेश्वर, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार आसपासको क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ। ती क्षेत्रमा पाँचजनाभन्दा बढी भेला भएर नाराबाजी, जुलुस, धर्ना, घेराउ तथा प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालयहरू, विशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य प्रशासनिक क्षेत्रहरूमा प्रदर्शन हुँदा सार्वजनिक सेवा प्रवाह, यातायात र शान्ति सुरक्षामा बाधा पुग्ने भएकाले यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ।
प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पालना गर्न अनुरोध गर्दै उल्लंघन गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।