नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको हत्या अभियोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनः हेर्दाहेर्दैमा राखिएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले निरन्तर सुनुवाइ गर्दै मुद्दालाई टुंगोमा पुर्याउने निर्णय गरेको हो।
गत असोज ९ गते अन्य आदेश जारी भएपछि यो मुद्दा सुनुवाइको प्रक्रियामा अघि बढ्न सकेको थिएन। करिब साढे पाँच महिनापछि पुनः पेसीमा चढेको यो मुद्दा अब भने निरन्तर सुनुवाइका लागि राखिएको छ। यसअघि तीन पटक फैसला मिति तोकिएर पनि मुद्दा सारिएको थियो।
सर्वोच्च अदालतले यसअघि नै ०६९ मंसिर ११ को अन्तरिम आदेश र ०७२ वैशाख ८ को आदेश कार्यान्वयनबारे प्रशासनसँग विवरण मागेको थियो। तर, आदेशअनुसार अनुसन्धानको प्रगति विवरण अदालतमा पेश भएको छैन। संक्रमणकालीन न्याय प्रक्रियासँग जोडेर प्रशासनले यो मुद्दा अघि नबढाएपछि अन्य सम्बन्धित मुद्दाहरू पनि प्रभावित भएका छन्।
के हो सापकोटाविरुद्धको मुद्दा?
पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामालाई ०६२ वैशाखमा अपहरण गरी असारमा हत्या गरिएको दाबी गर्दै सापकोटासहितका व्यक्तिहरूविरुद्ध उजुरी दर्ता गराएकी थिइन्। प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि सर्वोच्च अदालतले ०६४ मा परमादेश जारी गर्दै हत्या अभियोगमा अनुसन्धान गर्न निर्देशन दिएको थियो।
यसै आधारमा ०६५ साउन २७ गते सापकोटाविरुद्ध काभ्रे प्रहरी कार्यालयमा ज्यान मुद्दा दर्ता भएको थियो। तर, प्रहरी अनुसन्धानका क्रममा उनी फरार रहेको उल्लेख गरिएको थियो। फरार सूचीमा रहेका सापकोटा भने यसबीचमा मन्त्री र सभामुखसमेत बनिसकेका छन्।
०६८ असार ७ मा सर्वोच्च अदालतले जारी गरेको आदेशमा सापकोटाले न्यायालयप्रति सम्मान नदेखाएको भन्दै आलोचना गरिएको थियो। अदालतले उनी स्वेच्छाले प्रहरीसमक्ष उपस्थित भएर अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएको थियो।
पूर्णिमायाले ०६९ मंसिर ७ मा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सो मुद्दामा अन्तरिम आदेश जारी गरिए पनि अन्तिम टुंगो लाग्न सकेको थिएन। पछि ०७२ चैत २२ मा न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले यसलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो।
०७५ फागुन ३ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेको यो मुद्दा लामो समयदेखि सुनुवाइ नहुने सूचीमा रहँदै आएको थियो।
अब सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गर्दै मुद्दालाई टुंगोमा पुर्याउने तयारी गरेको छ।