रुस–युक्रेन युद्ध अन्त्य गर्न वार्ताका लागि अमेरिकी वार्ता टोली रुस गएको छ। बिबिसिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो जानकारी दिएका हुन्। तर, उनले उक्त टोलीमा को–को रहेका छन् भन्ने खुलाएका छैनन्।
यसअघि, साउदी अरेबियाको जेद्दामा भएको बैठकमा युक्रेनी अधिकारीहरू र अमेरिकी प्रतिनिधिहरूबीच छलफल भएको थियो। सो बैठकपछि युक्रेनले ३० दिनको अस्थायी युद्धविराम प्रस्तावमा सहमति जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, “अब निर्णय गर्ने जिम्मेवारी रुसको हातमा छ।”
युक्रेनी अधिकारीहरूका अनुसार अब युद्धविरामका लागि रुसलाई सहमत गराउने प्रयास अमेरिकाले गर्नेछ। उता, क्रेमलिनले युद्धविराम प्रस्तावको अध्ययन भइरहेको जनाएको छ। साथै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता हुनसक्ने सम्भावना रहेको छ।