काठमाडौं उपत्यकामा होली पर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गरेको छ। यस क्रममा नियम उल्लंघन गर्ने ६६ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेल्मेट नलगाउने, र मोटरसाइकल वा स्कुटरमा तीनजना वा सोभन्दा बढी सवार हुने जस्ता गतिविधिहरू कारबाहीको दायरामा परेका छन्।
ट्राफिक प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतका अनुसार ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारी नियन्त्रणमा लिइएको छ। उनका अनुसार मापसे जाँच, ओभरस्पिड, हेल्मेट नलगाउने, तथा जथाभावी सवारी सञ्चालन गर्नेहरूलाई विशेष निगरानीमा राखिएको छ।
कारबाही प्रक्रिया
नियन्त्रणमा लिइएका सवारीसाधनलाई बेलुकासम्म होल्डमा राखी, उल्लंघन गरेको नियमअनुसार जरिवाना तिराइने छ। साथै, कारबाहीमा परेका चालकहरूलाई सचेतना कक्षामा अनिवार्य रूपमा सहभागी गराइनेछ।
सुरक्षा व्यवस्था कडा
होलीमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न काठमाडौं उपत्यकामा २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार ट्राफिक प्रहरी, सादा पोशाकका प्रहरी, जनपद र अनुगमन टोलीसहित २,७०६ सुरक्षाकर्मी परिचालन गरिएको छ।
विशेष निगरानी क्षेत्रहरू
बसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेललगायत काठमाडौं उपत्यकाका १९ स्थानमा होली विशेष कार्यक्रमहरू भइरहेका छन्। ती क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रहरीका अनुसार लागू पदार्थ सेवन गर्नेहरूलाई कडाइका साथ जाँच गरिनेछ। त्यस्ता पदार्थ फेला परेमा कारबाही अघि बढाइनेछ। साथै, होली खेल्ने क्रममा झगडा गर्ने, उच्छृंखल गतिविधि गर्ने, तथा अनुमति बिना रंग दल्नेहरूलाई पहिचान गरी कानुनी कारबाही गरिनेछ।