काठमाडौं, चैत ३ – प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही र नेकपा (एमाले)का सांसद रघुजी पन्तबीच चर्काचर्की भएको छ। संसदमै तीव्र बहस चल्दा मदन भण्डारीको हत्या प्रकरण, निर्मला पन्त हत्या प्रकरण, माओवादी द्वन्द्वकालीन हिंसा, राजतन्त्रकालीन घटनाहरू र वर्तमान सरकारको भूमिकासम्मका विषय उठान भए।
मदन भण्डारी हत्या प्रकरणमा शाहीको प्रश्न
संसद्मा छलफलका क्रममा एमाले सांसद पन्तले राजतन्त्रकालका हत्याका घटनाहरूको चर्चा गरेपछि राप्रपा प्रमुख सचेतक शाहीले मदन भण्डारीको हत्या अझै किन रहस्यमय छ भन्ने प्रश्न उठाए। उनले भने, “यहाँ जे मन लाग्यो त्यही बोल्ने ? मदन भण्डारीको हत्या कसले गर्यो ? त्यो हत्या पत्ता लगाउने व्यक्ति अहिले प्रधानमन्त्री हुनुहुन्छ। त्यसबेला दुईतिहाइको सरकार थियो, राष्ट्रपति तपाईंहरुकै थियो। अनि किन मदन भण्डारी हत्याको सम्झना भएन ?”
शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा समेत मदन भण्डारीको हत्यारा पत्ता लगाउन कुनै ठोस पहल नभएको उल्लेख गर्दै भने, “यस संसद्लाई यसको जवाफ चाहिन्छ।”
निर्मला पन्त हत्या, बाँदरमुडे र मुक्तिनाथ अधिकारी प्रकरणको प्रश्न
शाहीले निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्षौं बितिसक्दा पनि दोषीलाई कानुनी कारबाही नगरिएको भन्दै सरकारको आलोचना गरे। साथै, उनले माओवादी द्वन्द्वकालमा चितवनको बाँदरमुडे घटनामा निहत्था नागरिकहरू मारेको विषय पनि संसद्मा उठाए।
उनले भने, “बाँदरमुडे घटनामा निहत्था नागरिकलाई बम हानेर मारेको होइन ? लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको हत्या कसले गर्यो ? के ती हत्याराहरू अहिले यही संसद्मै सांसद बनेर हिँडिरहेका छैनन् ?”
‘पाँच हजार मान्छे मारेको’ अभिव्यक्तिप्रति आक्रोश
शाहीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अतीतमा दिएको अभिव्यक्तिलाई लिएर पनि प्रश्न उठाए। उनले भने, “खुल्लामञ्चमा उभिएर पाँच हजार मान्छे मारेको हुँ भन्ने व्यक्ति आज देशको प्रधानमन्त्री बन्न सक्छ ? भारतको दिल्लीमा बसेर ‘नेपालमा निहत्था मान्छे मार्नुपर्छ’ भनेर योजना बनाउने व्यक्ति संसद्मा मन्त्री हुन सक्छ ?”
उनले यो प्रवृत्ति देशका लागि घातक रहेको बताए।
राजतन्त्रकालीन इतिहासलाई लिएर भनाभन
संसद्मा बहसका क्रममा एमाले सांसद रघुजी पन्तले राजतन्त्रकालीन घटनाहरू स्मरण गराउँदै तत्कालीन राजा वीरेन्द्र शाह भारतको कोलकातामा विभिन्न महिलासँग सम्बन्ध राख्ने गरेको दाबी गरे। उनले भारतका प्रधानमन्त्रीले नै नेपालका राजासम्बन्धी असन्तुष्टि जनाएका थिए भनेर संसद्मा धारणा राखे।
उनको यो भनाइपछि राप्रपा सांसद शाहीले आपत्ति जनाउँदै सभामुख देवराज घिमिरेसँग बोल्ने समय मागे। तर, पन्तले “आफ्नो समयमा बोल्नुस्” भन्दै रोक्ने प्रयास गरे।
शाहीले तत्कालीन राजामाथि लागेको आरोप असत्य रहेको दाबी गर्दै भने, “मसँग प्रमाणसहित बहस गर्ने हो भने इतिहास पढेर आउनुस्। जुम्लाबाट हाउ गरेर आएको जस्तो होइन।”
पन्तले आफूले बोलेको इतिहास गलत भए त्यसलाई प्रमाणित गर्न चुनौती दिए। उनले भने, “यदि मैले बोलेको इतिहास गलत हो भने इतिहासको पुस्तक पढाएर साबित गरौँ।”
सभामुखको हस्तक्षेप र थप बहसको चेतावनी
सभामुख देवराज घिमिरेले दुबै पक्षलाई आफ्नो समयमा बोल्न आग्रह गर्दै पन्तको काटिएको समय पुनः थपे। थप समयमा पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहको वर्तमान गतिविधिप्रति असन्तुष्टि जनाउँदै “सत्तापक्ष पनि सडकमा आउन नपरोस्” भनेर चेतावनी दिए।
शाहीको खुला बहसको चुनौती
शाहीले वर्तमान व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आफू राजासहितको प्रजातन्त्रको पक्षमा रहेको बताए। उनले भने, “राजतन्त्र आवश्यक छ कि छैन भन्ने विषयमा म खुला बहस गर्न तयार छु।”
संसद्मा भएको यो बहसले नेपाली राजनीतिमा पुराना मुद्दाहरू पुनः चर्चामा ल्याएको छ। मदन भण्डारीको हत्या प्रकरणदेखि द्वन्द्वकालीन घटनासम्मका विषय उठान हुँदा संसदीय छलफल थप तिक्त बनेको देखिन्छ।