काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले बैठक आह्वान गर्ने सहमति जुटाएको हो। यद्यपि, बैठकको मिति र समय भने टुंगो लागेको छैन।
सचिवालय बैठकमा यसअघि भएका निर्णयहरूको पुनरावलोकन गर्दै आवश्यक परामर्श लिने तथा दिने प्रक्रिया अघि बढाइएको बताइएको छ। बैठकमा पार्टीका केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान राष्ट्रिय राजनीतिक परिवेशका बारेमा विस्तृत जानकारी गराएका थिए।
रास्वपाले आफ्नो राष्ट्रिय महाधिवेशनसम्बन्धी तयारी, कार्यसूची तथा प्रक्रियाका विषयमा समेत छलफल गरेको छ। महाधिवेशनको तयारीका लागि भइरहेका गतिविधिहरूबारे जानकारी आदान-प्रदान गरिएको पार्टीले जनाएको छ।
त्यसैगरी, बैठकमा संसद्मा भइरहेको अधिवेशनका विषयमा समेत समीक्षा गरिएको छ। दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले संसद्मा जारी गतिविधि र पार्टीको भूमिकाबारे जानकारी गराएका थिए।
पार्टी नेतृत्वले निकट भविष्यमा केन्द्रीय समिति बैठकको मिति तय गर्ने बताएको छ।