धनुषाको सबैला नगरपालिकामा दुई समुदायबीचको विवाद चर्किएपछि प्रहरीले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका छन्। घाइते सन्तोष यादव रहेको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले पुष्टि गरेका छन्।
सोमबार दिउँसो सबैला नगरपालिकाको एक चोकमा यादव समुदायले ‘यादव चोक’ लेखिएको बोर्ड राखेका थिए। तर, अन्य समुदायका व्यक्तिले उक्त बोर्ड हटाएपछि विवाद उत्पन्न भएको थियो।
प्रहरीका अनुसार विवाद बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि हातपात भएको थियो। त्यसपछि प्रहरीले बल प्रयोग गर्नुपरेको र गोली चलाउनुपरेको डीआईजी आचार्यले बताए। प्रहरीले चलाएको गोली लागेर सन्तोष यादव गम्भीर घाइते भएका छन्।
यसअघि, आइतबार पनि दुई समुदायबीच विवाद भएको थियो। त्यसक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
हाल घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने थप तनाव हुन नदिन स्थानीय प्रशासन सतर्क रहेको छ।