रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित पीपरा बजारमा आज “गणतन्त्रको अन्त्येष्टि” कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा २०७२ को संविधानसहित नेपालका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी शर्मा ओलीको तस्बिरलाई चितामा राखेर दाहसंस्कार गरिएको थियो।
“राजा ल्याऊ, देश बचाऊ” भन्ने नारासहित आयोजित यस कार्यक्रममा नेपाल-भारत हिन्दू मैत्री समाजका केन्द्रीय अध्यक्ष डा. राजीव झा ले गणतन्त्रलाई “१७,००० नागरिकको हत्या, बन्दुकको दबाब र विदेशीको प्रभावबाट लादिएको मुलुकमारा व्यवस्था” को रूपमा परिभाषित गरे। उनले गणतन्त्रलाई नै देशको अस्थिरताको जड ठहर्याउँदै राष्ट्रवादी शक्तिहरूलाई एकजुट भई नयाँ व्यवस्थाको मार्ग प्रशस्त गर्न आह्वान गरे।

डा. झाले विगत १७ वर्षसम्म देखिनै नसकेका नेता दरबारको नेतृत्व लिने भन्दै स्वघोषित संयोजकहरू केवल निश्चित वर्गको स्वार्थ पूर्तिको प्रयासमा रहेको टिप्पणी गरे। साथै, उनले मधेशी समुदायलाई फेरि आन्दोलनको भिड बनाउने षड्यन्त्रलाई कुनै हालतमा स्वीकार गर्न नसकिने प्रस्ट्याए।
उनले वर्तमान परिप्रेक्ष्यलाई प्रविधिसँग तुलना गर्दै भने, “आजको समयमा हजारौं जीबीको पेन ड्राइभ छ , तर केही मानिसहरू पुरानो फ्लपी डिस्क हालेर कम्प्युटर चलाउने प्रयास गरिरहेका छन्, जुन सार्थक हुँदैन।”

उक्त कार्यक्रमलाई स्थानीय राष्ट्रवादी नागरिकहरूको व्यापक समर्थन रहेको थियो। सहभागीहरूले नेपालको मौलिक पहिचान, संस्कृति र हिन्दू राजसंस्थाको पुनःस्थापनाका लागि निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।