पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा बेलुन विस्फोट भएको घटनाबारे छानबिन गर्न गठित समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ।
समारोहका क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो। गृहमन्त्री लेखकको निर्देशनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति बनाइएको थियो।
समितिले घटनाको विस्तृत विश्लेषण गर्दै भविष्यमा यस्ता घटनाबाट बच्न आवश्यक सतर्कता र सुधारका उपायहरू सुझावस्वरूप प्रतिवेदनमा समेटेको छ। गृह मन्त्रालयका अनुसार प्रतिवेदनमा सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिनुपर्ने, सार्वजनिक कार्यक्रममा विस्फोटक र प्रज्वलनशील पदार्थको प्रयोग रोक्नुपर्ने, तथा यस्ता कार्यक्रम आयोजना गर्दा जोखिम मूल्यांकन अनिवार्य गर्नुपर्ने सिफारिस गरिएको छ।
त्यसैगरी, विशिष्ट व्यक्तिहरू सहभागी हुने कार्यक्रममा सुरक्षा प्राथमिकता दिनुपर्ने, अप्रज्वलनशील हिलियम ग्यास मात्रै प्रयोग गर्नुपर्ने, आतिसबाजी तथा विस्फोटक पदार्थ प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने, र कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनसँग समन्वय गरी सुरक्षा मापदण्ड अपनाउनु पर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको छ।
गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख गरिएका सिफारिसहरू कार्यान्वयन गर्न गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन्। समितिले यस्ता कार्यक्रमहरूको आयोजना, व्यवस्थापन र सुरक्षा सम्बन्धी स्पष्ट कार्यविधि बनाउनुपर्ने सुझावसमेत दिएको छ।