नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीप्रति जनताको विश्वास र अपेक्षा बढ्दै गएको बताएका छन्।
पेसागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनद्वारा आयोजित “संविधान संशोधनः आवश्यकता र चुनौती” विषयक कार्यक्रममा बोल्दै उनले कांग्रेसले जनताको दुःखमा साथ दिने पार्टीका रूपमा आफूलाई स्थापित गरिरहेको बताए।
उनले देशभर भ्रमण गर्दा नेपाली कांग्रेसप्रति जनतामा सकारात्मक धारणा बढेको अनुभव गरेको उल्लेख गरे। “जनताले कांग्रेसलाई आशा र भरोसाका साथ हेरिरहेका छन्। कांग्रेसले केही गर्छ भन्ने विश्वास छ। सबै मिलेर पार्टीलाई अझ बलियो बनाउन आवश्यक छ,” देउवाले भने।
त्यसैगरी, उनले वर्तमान संविधानअनुसार कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन कठिन रहेको बताए। “संविधानको व्यवस्थाले गर्दा कुनै पनि पार्टीलाई एक्लै बहुमत ल्याउन गाह्रो छ। त्यसैले अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ,” उनले भने।
सभापति देउवाले कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भए पनि पर्याप्त मत प्राप्त गर्न नसकेको स्वीकार गरे। “कडा मेहनतका बाबजुद हाम्रो पार्टी ठूलो दल बन्न सफल भयो, तर पर्याप्त मत भने आउन सकेन। यसमा पार्टीको मात्र होइन, संविधानको संरचनाको पनि भूमिका छ,” उनले स्पष्ट पारे।
महिला सहभागिता सम्बन्धमा उनले महिलाहरूलाई घरायसी जिम्मेवारीसँगै सरकारी तथा अन्य पेशागत भूमिकामा समेत बढी मेहनत गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे। “घरको काम, बाहिरी जिम्मेवारी र राज्यले दिएको कर्तव्य— यी सबै पूरा गर्नुपर्ने भएकाले महिलाहरूलाई बढी मेहनत गर्नुपर्छ,” उनले भने।
कार्यक्रममा संविधान संशोधन, राजनीतिक सहकार्य र समसामयिक विषयहरूमा छलफल भएको थियो।