नेपालमा ई–सिम प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। पछिल्ला अढाई वर्षमा नेपाल टेलिकम र एनसेल गरी कुल ३ लाख ३५ हजारभन्दा बढी प्रयोगकर्ताले ई–सिम उपयोग गरिसकेका छन्। नेपाल टेलिकमका अनुसार हालसम्म १ लाख ८५ हजार ग्राहकले ई–सिम लिइसकेका छन् भने एनसेलका ग्राहक संख्या १ लाख ५० हजार पुगेको छ।
नेपाल टेलिकमले २०७९ भदौ ३१ गते काठमाडौंको सुन्धारा शाखाबाट पहिलो पटक ई–सिम वितरण सुरु गरेको थियो। त्यसपछि २०७९ मंसिरदेखि देशभरका कार्यालयमार्फत वितरण थालेको टेलिकमले २०८१ माघ २२ देखि अनलाइनबाटै ई–सिम लिन मिल्ने सुविधासमेत उपलब्ध गराएको छ। कम्पनीका प्रवक्ता हरि ढकालका अनुसार हालसम्म अनलाइन प्रणालीबाट मात्रै २५ सय ई–सिम जारी भइसकेका छन्। नेपाल टेलिकमको ई–सिम नेपाल विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा समेत प्रयोग भइरहेको छ, जसका लागि २०८० वैशाखमा १ लाख ५० हजार ई–सिम उपलब्ध गराइएको थियो।
यस्तै, निजी क्षेत्रको सेवा प्रदायक एनसेलले २०७९ मंसिर ९ देखि ई–सिम वितरण सुरु गरेको हो। एनसेलले यसका लागि बेलायतको ई–सिम प्रविधि प्रदायक कम्पनी ट्रुफोनसँग सहकार्य गरेको थियो। कम्पनीका अनुसार ई–सिम समर्थित मोबाइल उपकरणहरूको संख्या बढ्दै जाँदा यसको माग पनि क्रमशः वृद्धि भइरहेको छ।
प्रयोगकर्ताले आफ्ना फिजिकल सिमलाई ई–सिममा रूपान्तरण गर्न सक्ने सुविधा दुबै सेवा प्रदायकले उपलब्ध गराएका छन्। नेपाल टेलिकमका अनुसार सिमकार्ड प्रयोगकर्ताको विवरण सिस्टमसँग मेल नखाएमा भेरिफिकेसन अस्वीकृत हुने समस्या आउने गरेको छ। सिम दुरुपयोग रोक्नका लागि कडाइ गरिएको टेलिकमले जनाएको छ। एनसेल प्रयोगकर्ताले ई–सिममा अपग्रेड गर्न १ सय रुपैयाँ तिर्नुपर्नेछ भने नेपाल टेलिकम प्रयोगकर्ताले न्यूनतम ५० रुपैयाँ ब्यालेन्स राख्नुपर्छ। नेपाल टेलिकमले भने ई–सिम निःशुल्क उपलब्ध गराइरहेको छ।
ई–सिम एउटा डिजिटल सिम हो, जुन मोबाइल डिभाइसभित्रै इम्बेड गरिएको हुन्छ। भौतिक सिमझैँ कार्य गर्ने यो प्रविधि हटाउन वा परिवर्तन गर्न नपर्ने भएकाले हराउने वा बिग्रिने सम्भावना हुँदैन। एउटै ई–सिममा विभिन्न नेटवर्क प्रोफाइल राख्न सकिने भएकाले प्रयोगकर्ताले आफूलाई चाहेको नेटवर्कमा सजिलै स्विच गर्न सक्छन्।
विश्वव्यापी रूपमा ई–सिम प्रविधिको प्रयोग बढ्दो क्रममा छ। ‘मोबाइल वर्ल्ड लाइभ’ को पछिल्लो सर्वेक्षणअनुसार हाल ६९ देशका १७५ भन्दा बढी मोबाइल अपरेटरले यो सेवा प्रदान गरिरहेका छन्। सन् २०२५ भित्र ई–सिम जडान भएका स्मार्टफोनको संख्या १ अर्ब पुग्ने अनुमान गरिएको छ भने २०२८ सम्ममा विश्वभरका आधाजसो स्मार्टफोनमा ई–सिम रहनेछ।
नेपालमा भने भौतिक सिमकार्डको आयात अझै ठूलो परिमाणमा भइरहेको छ। भन्सार विभागका अनुसार पछिल्ला सात महिनामा १० लाख ७१ हजार ४८१ सिमकार्ड नेपाल भित्रिएको छ, जसका कारण करिब ४ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ। ई–सिमको प्रवर्द्धनले दीर्घकालमा यसमा कमी आउन सक्ने अनुमान गर्न सकिन्छ।