काठमाडौं – गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित १३ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयको निर्णयअनुसार सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ, भने हाल कपिलवस्तुमा रहेका विश्वप्रकाश अर्याललाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ।
त्यसैगरी, उदयपुरका प्रजिअ हरिप्रसाद घिमिरेलाई पर्वत सरुवा गरिएको छ। सहसचिव जगदीश्वर उपाध्यायलाई सुर्खेत पठाइएको छ, भने भविश्वर पाण्डेलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी दिइएको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ। कुमान सिंह गुरुङलाई बागलुङमा पठाइएको छ, भने त्यहाँ कार्यरत नेत्रप्रसाद सुवेदीलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ।
त्यस्तै, प्रेमप्रसाद लुइँटेललाई उदयपुर, आनन्द सारुलाई अछामका प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ। अछामका प्रजिअ शिवप्रसाद लम्साल र पर्वतका प्रजिअ केदारनाथ शर्मालाई गृह मन्त्रालय वा अन्तर्गत अन्यत्र सरुवा गरिएको छ।