वासिङ्टन – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच करिब एक घण्टा लामो फोन वार्ता भएको छ। ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि बुधबार जेलेन्स्कीलाई फोन गरेका हुन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियल मा पोस्ट गर्दै वार्ताको उद्देश्य युक्रेन र रुसलाई “उनीहरूको अनुरोध र आवश्यकता अनुसार” वार्तामा ल्याउनु रहेको उल्लेख गरेका छन्। उनले युद्धविराम प्रयासहरू सकारात्मक रूपमा अघि बढिरहेको पनि बताएका छन्।
जेलेन्स्कीले फोन वार्तालाई ‘खुला, सकारात्मक र गहिरो’ भएको बताएका छन्। उनले सामाजिक सञ्जाल एक्स मा लेख्दै यस वर्ष अमेरिका र ट्रम्पको साथबाट युक्रेनमा दीर्घकालीन शान्ति स्थापना हुन सक्ने विश्वास व्यक्त गरेका छन्।
जेलेन्स्कीका अनुसार उनीहरूबीच रुसी नियन्त्रणमा रहेको जापोरिज्जिया परमाणु ऊर्जा केन्द्रको सम्भावित अमेरिकी स्वामित्वका विषयमा छलफल भएको थियो। साथै, उनले रूसले युद्धविरामका सर्तहरू उल्लंघन गरे युक्रेनले जवाफी कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।
उनका अनुसार जबसम्म ठोस सहमति हुँदैन, आंशिक युद्धविरामको सम्भावना न्यून छ। उनले ड्रोन र मिसाइल आक्रमणका कारण द्वन्द्व जारी रहने संकेत दिएका छन्।