काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको अभिव्यक्तिप्रति पार्टीभित्रै गम्भीर प्रश्न उठेको छ। जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै घिमिरेको भूमिकामाथि आलोचना भइरहेको छ।
संसद्मा तथा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा यो विषय उठिरहेको बेला कांग्रेस नेता डा. मीनेन्द्र रिजालले घिमिरेको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रमुख सचेतक पदमा बसेर व्यक्तिगत धारणा सार्वजनिक गर्न नमिल्ने बताए।
“प्रमुख सचेतक पदमा बसेपछि उहाँको अभिव्यक्ति पार्टीको धारणा हो। यदि व्यक्तिगत विचार राख्नैपर्ने हो भने, प्रमुख सचेतकको जिम्मेवारीबाट अलग भएर मात्र बोल्नुपर्छ,” डा. रिजालले भने।
नेता रिजालले संसद्मा जिम्मेवार पदमा बसेका व्यक्तिले अभिव्यक्ति दिई पछि माफी माग्नुले पार्टीकै विश्वासनीयता कमजोर हुने बताए। “पहिले गैरजिम्मेवार अभिव्यक्ति दिने, त्यसपछि माफी माग्ने प्रवृत्तिले पार्टीको छवि नै प्रभावित गर्छ,” उनले थपे।
यस्तै, रिजालले प्रमुख सचेतक घिमिरेले संसदीय अभ्यास र पार्टीको लोकतान्त्रिक चरित्रअनुसार भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। संसद्मा अन्य दलका प्रश्नहरूको अनावश्यक जवाफ दिने र कांग्रेसको हैसियतभन्दा बाहिर गएर धारणा राख्ने प्रवृत्तिले समस्या निम्त्याएको उनको भनाइ छ।
अध्यादेशको विषयमा पनि असहमति
डा. रिजालले प्रमुख सचेतक घिमिरेले संसद्मा अध्यादेशसम्बन्धी व्यक्त गरेको धारणा प्रति असहमति जनाउँदै संसद्को भूमिका कमजोर हुने खालका अभिव्यक्ति नदिन आग्रह गरे।
“संविधानमा अध्यादेशको व्यवस्था सरकारलाई सुविधाका लागि गरिएको होइन। बारम्बार अध्यादेश जारी गर्नु लोकतान्त्रिक अभ्यास विपरीत हो। संसद्को भूमिका नै गौण बनाउने गरी अध्यादेशको दुरुपयोग गर्नु गलत हुन्छ,” रिजालले भने।
उनले सरकारले कानुन निर्माण गर्दा संसद्बाटै विधेयक ल्याएर अघि बढाउनुपर्ने उल्लेख गरे। संसद्को उत्तरदायित्व मजबुत हुनुपर्नेमा जोड दिँदै उनले प्रमुख सचेतकजस्तो जिम्मेवार पदमा बसेका व्यक्तिको अभिव्यक्तिले लोकतान्त्रिक प्रणालीमै प्रश्न उठाउने बताए।
यस विषयमा नेपाली कांग्रेस नेतृत्वले औपचारिक प्रतिक्रिया दिने वा नदिने भन्ने विषयमा भने हालसम्म कुनै स्पष्ट संकेत देखिएको छैन।