झापा, चैत १० – सशस्त्र प्रहरी बलले झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट १,६३६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। इलामबाट झापातर्फ आउँदै गरेका दुई ट्रकमा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका अनुसार को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरका ट्रकबाट गाँजा बरामद गरिएको हो। सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँका अनुसार शुक्रबार गरिएको जाँचका क्रममा ५७ बोरामा राखिएको गाँजा फेला परेको थियो।
पक्राउ पर्नेहरूमा धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ का गङ्गाबहादुर बस्नेत रहेका छन्। उनीहरूको साथबाट ८७ हजार रुपैयाँ नगद र पाँच थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई ट्रकसहित थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ।