काठमाडौं । देशका केही भूभागमा आज हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानको समय पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अधिकांश भूभागमा मौसम सफा रहनेछ।
दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशमा भने आंशिक बदली रहने र खासै मौसम परिवर्तन नहुने मौसमविद्हरूले बताएका छन्।
काठमाडौं उपत्यकामा आज आंशिक बदली रहनेछ। मौसमविद् मीनकुमार अर्यालका अनुसार उपत्यकामा केही दिनसम्म पानी पर्ने सम्भावना नरहेको छ। “काठमाडौंमा सामान्य बदली मात्र हुनेछ, तत्काल वर्षाको सम्भावना छैन,” उनले भने।
जल तथा मौसम विज्ञान विभागले मौसमको यो अवस्था दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई सेवामा केही असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। हिमपात हुने क्षेत्रमा चिसो बढ्ने भएकाले स्थानीय बासिन्दा तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। यद्यपि, तत्काललाई हावाहुरी वा ठूलो मौसम प्रणाली विकसित हुने सम्भावना नरहेको मौसमविद्हरूले स्पष्ट पारेका छन्।